
एजेन्सी । खोप उत्पादन गर्ने फर्म र बोतलबन्द पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी जङ शान्शा एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति यो वर्ष सात अर्ब डलरले बढेको छ । योसँगै उनी भारतका मुकेश अम्बानी र चीनका ज्याक माभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।
ब्लूमबर्गको बिलीअनेअर इन्डेक्सका अनुसार कुल ७७ दशमलम ८ अर्ब डलर बराबर सम्पत्तिसहित जङ संसारभरिका धनाढ्य व्यक्तिको सूचीमा ११ औँ स्थानमा पुगेका छन्। उनी कुनै बेला पत्रकारिता, च्याउखेती र स्वास्थ्य क्षेत्रमा पनि संलग्न थिए । जङले खोप उत्पादन गर्ने फर्म बेइजिङ वान्ताई बायोलजिकलको शेयर गत एप्रिल महिनामा चीनको स्टक बजारमा सूचीकृत गराएका थिए। तीन महिनापछि बोतलको पानी उत्पादन गर्ने कम्पनी नोङ्फु स्प्रिङ पनि हङ्कङको शेयर बजारमा पुग्यो। त्यसले उनलाई अलिबाबाका संस्थापक ज्याक माभन्दा माथि पुर्याइदियो। ज्याक मा त्यतिबेला चीन र एशियाकै सर्वाधिक धनी व्यक्ति थिए।
त्यतिबेलादेखि नै नोङ्फु स्प्रिङ हङ्कङको शेयर बजारमा बलियो बनेर बसेको छ । शेयर बजारमा भएको नाटकीय उत्थानले जङलाई एशियाको सर्वाधिक व्यक्तिका रूपमा स्थापित गरिदिएको छ । ब्लूमबर्गका अनुसार यो इतिहासमै सर्वाधिक सम्पत्ति सङ्कलन भएका घटनामध्ये एक हो । विश्वका धनाढ्यहरू कोरोना महामारीको समयमा अझ धनी भएका छन् । भारतका मुकेश अम्बानीको सम्पत्ति पनि यो अवधिमा १८ अर्ब ३० करोड डलरले बढेर ७६ अर्ब ९० करोड डलर पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्