एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबलको तयारी पूरा, सात राष्ट्रबीच भिडन्त

news

काठमाडौं, साउन २८ । आउँदो भदौ २ गतेदेखि नेपालमा आयोजना हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन’ सिनियर पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक नेपाल भलिबल संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको तयारी सकिएको जानकारी दिँदै सहभागिताका लागि अफगानिस्तानको टोली नेपाल आइसकेको र अरु टोली केही दिनमै आइपुग्ने जानकारी गराए ।

एसियाली भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान गरी सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

विदेशी टिमलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ‘हेल्पडेक्स’ स्थापना गरिएको छ ।

प्रतियोगिताको खेलतालिका प्राविधिक टोलीको बैठकपछि केही दिनमा सार्वजनिक गरिने संघले जनाएको छ ।

भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछन् ।

प्रतियोगिता हेर्न आउने दर्शकलाई टिकटको शुल्क नलाग्ने जानकारी गराएको छ ।

नेपाली टोली इमबहादुर रानाको कप्तानीमा खेल्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...