२७ असार २०८२, शुक्रबार | Sat Jul 12 2025


विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा ‘उल्लेख्य सफलता’


39
Shares

काठमाडौं, साउन २८ । नेपाल विद्युत् प्राधिकरण यस वर्ष पनि उल्लेख्य नाफा गर्न सफल भएको छ ।

प्राधिकरणले अरु सरकारी संस्थानको तुलनामा आफूलाई फेरि पनि अब्बल साबित गरेको छ ।

पछिल्लो १० वर्षयता निरन्तर घाटा व्यहोर्दै आएको प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ देखि आफ्नो नाफाको यात्रालाई निरन्तरता दिँदै आएको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १४९ प्रतिशतले खुद मुनाफा आर्जन गर्न सफल भएको हो ।

प्राधिकरणले गत आवमा ७ अर्ब २० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

यस्तै, प्राधिकरणले चुहावट नियन्त्रणमा पनि आफूलाई दह्रोसँग उभ्याउँदै आएको जनाइएको छ । तीन वर्षको तथ्यांक हेर्दा प्राधिकरणको चुहावट निरन्तर न्यूनीकरण हुँदै आएको छ ।

प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत् चुहावटलाई १५.३२ प्रतिशतमा राख्न सफल भएको जनाइएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०.७८ प्रतिशत रहेको थियो । यस्तै, आव २०७२/७३ मा कुल चुहावट २५.७८ प्रतिशत रहेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणमा झन्डै दक्षिण एसियाली मुलुककै तुलनामा पुगिएको बताएका छन् ।

दक्षिण एसियाली मुलुकमा करिब चुहावटको मापदन्ड १० प्रतिशत रहेको र नेपाल करिब सो मापदन्डमा टेक्ने अवस्थामा पुगेको उनले उल्लेख गरेका छन् ।

प्राधिकरणले सरकारको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ दाखिला गरेको जनाएको छ । प्राधिकरणले विद्युत्को पहुँच पनि विस्तार गर्दै लगेको जनाएको छ ।

पछिल्लो समय उत्पादन, प्रसारण र वितरणमा केन्द्रित भएको प्राधिकरणले विद्युतीकरणलाई पनि प्राथमिकतामा राखेको पनि जनाउँदै आएको छ ।