
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ५० जना चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना दिन बाध्य भएको उनीहरुले बताएका छन् ।
गत पुष १० गते राती ११ बजे बिरामीको उपचारका क्रममा मादक पदार्थ सेवन गरेका बिरामीका कुरुवा अनुराग रसाइलीले डियुटीमा रहेका एक जना डाक्टरलाई हातपात गरेको र तीन जना प्यारामेडिकललाई अपशब्द बोलेको डाक्टर राजेन्द्र बहादुर क्षेत्रीले बताउनुभयो ।
बिरामीको अवस्था जटिल रहेको कुरुवालाई जानकारी दिँदा डाक्टरमाथि हातपात भएको डा. क्षेत्रीको भनाइ छ । डाक्टरलाई हातपात गर्नेलाई कारबाहीको माग राख्दै अस्पताल प्रशासनमा गएको र प्रशासनले प्रहरीमा उजुरी दिए पनि कुनै कारबाही अघि नबढ्दा आफूहरु आन्दोलिन हुन बाध्य भएको उहाँले बताउनुभयो । डाक्टरमाथि हातपात गर्ने कुरुवालाई कानूनी कारबाही नहुँदासम्म धर्ना जारी रहने स्वास्थ्यकर्मीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्