
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको बताउनुभएको छ ।
राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताउनुभएको हो ।
पूर्व राष्ट्रपति डा यादवले प्रतिनिधिसभा विघटनले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ लैजाने बताउनुभयो । अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा कुरामा विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो ।
डा यादवले विपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा मेलमिलापको नीति लिएर आएकोे स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताउनुभयो ।
भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने उहाँको भनाइ छ ।
पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दूरगामी प्रभावलाई विचार नगरी प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको समेत बताउनुभयो ।
काठमाडौंको शान्तिबाटिकामा तेज–तीर्थ ट्रष्टले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति यादवले पत्रकार अजयबाबु शिवाकोटीसहित पाँच जनालाई पुरस्कृत पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्