१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चीनद्वारा ७९ प्रतिशत प्रभावकारी खाेपलाई शर्तसहित अनुमति


0
Shares

काठमाडौं । चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ ।

सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोनाभाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । यसअघि नै सिनोफार्मद्वारा तयार पारिएको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ ।

खोप दिइएकाहरुमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिक रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बुधबार मात्र सिनोफार्मले आफूले विकास गरेको खोप ७९ दशमलब ३४ प्रतिशत सफल रहेको घोषणा गरेको थियो ।

पश्चिमा मुलुकका फर्मास्यूटिकल कम्पनीहरु फाइजर र मोडर्नाले विकास गरेका खोपहरु क्रमशः ९५ र ९४ प्रतिशत सफल रहेको दाबी गरिएको थियो । चिनियाँ स्वास्थ्य प्रशासनका उप आयुक्त चेन सिफीले सिनोफार्मको खोपलाई ‘सःशर्त’ अनुमति दिइएको जानकारी दिनुभयो ।

अब सिनोफार्मले यो खोपलाई बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिछिनले सिनोफार्मका खोपहरु वृद्धवृद्धा र अरु जोखिममा परेका नागरिकलाई निःशुल्क प्रदान गरिने जानकारी दिनुभयो ।