१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शुक्रबारदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति, कामदारकाे लाखाैं रकम जाेगिने


0
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि अनलाइन माध्यमबाट पुनः श्रम स्वीकृति दिने भएको छ ।

वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट आवेदन दिइ श्रम स्वीकृति लिन सक्ने व्यवस्था मिलाएको हो ।

शुक्रबारदेखि नै अनलाइन आवेदन भरेर पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गरिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभएको छ । यो सेवा लागू भएसँगै पुनः श्रम स्वीकृति लिनका लागि विदेशबाट विभागको कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने पनि उहाँको भनाइ छ ।

एकपटक विभागबाट आइडी लिएका, फिङ्गर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइएपछि अनलाइनबाटै आवेदन दिएर निःशुल्क सेवा लिन सकिने व्यवस्था गरिएको दहालले बताउनुभयो ।

नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरूबाट बायोमेट्रिक विवरण तानेर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको समेत दहालले बताउनुभयो । अबको दुई महिना भित्रमा नयाँ श्रम स्वीकृति पनि अनलाइन मार्फत दिन सक्ने गरी काम भइराखेको बताउनुभयो ।

वैदेशिक रोजगारीमा जान एकपटक श्रम स्वीकृति लिइसकेका व्यक्तिहरूले पुनः श्रम स्वीकृति लिनुपरेमा विभागको वेबसाइटमा रहेको अनलाइन श्रम स्वीकृति (एफईआईएमएस) मार्फत फारम भर्न सक्नेछन् । अनलाइनबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गरेपछि विदेशमा बसेका नेपालीहरुलाई श्रम स्वीकृति लिन नेपाल आउनुपर्ने बाध्यता हट्ने पनि दहालले बताउनुभयो ।