
पश्चिम नवलरपरासी । जिल्लाको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परे लगत्तै उखु किसानहरूलाई भुक्तानी दिन सुरु गरिएको छ । अग्रवालले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाए पनि किसानहरूलाई भने भुक्तानी दिइएको थिएन ।
बिहीबार वीरगञ्जबाट अग्रवाल पक्राउ गरे लगत्तै उद्योगले जिल्लाका किसानहरूलाई ई सेवाबाट भुक्तानी दिन सुरु गरेको हो । प्रहरीले पक्राउ गरेका अग्रवाललाई वीरगञ्जबाट नवलपरासी पुरयाउँदै छ । अग्रवाल नवलपरासी नपुग्दै उद्योगका प्रबन्धक विजयकुमार गुप्ता जिल्ला प्रशासन पुगेर किसानको रकम भुक्तानी प्रक्रिया सुरु गरिएको जानकारी गराउनुभएको थियो । यस्तै उहाँले पुस मसान्तभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
बिहीबार साँझसम्म उद्योगले किसानहरूको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरीसक्ने पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो । उद्योगका सञ्चालकलाई भुक्तानीको अवस्था र सुनिश्चितता बारे सोधपुछ गर्न वीरगञ्जबाट नवलपरासी बोलाइएको पाठकले बताए ।
उद्योगले कुल ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । उद्योगका प्रबन्धक गुप्ताले अहिले २ करोड जम्मा गरेर भुक्तानी दिन सुरु गरिएको बताउनुभयो । हप्ता दिनभित्र अरु २ करोड जम्मा गरेर फेरि भुक्तानी दिने र शुक्रबारसम्म बैंक ग्यारेन्टीमार्फत पुस मसान्तभित्र सम्पूर्ण रकम भुक्तानी दिने गुप्ताको भनाइ छ । भुक्तानीपछि माघ १ बाट उद्योग नियमित सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्