
काठमाडौं । अभिनेत्री ऋचा शर्माले अंग्रेजी नयाँवर्ष २०२१ को अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गर्नुभएको छ । २०२० आफ्ना लागि तितोमिठो मिश्रित रहेको बताउँदै उनले २०२१ को पहिलो दिनमै चलचित्र ‘कौसीद’ निर्माणको घोषणा गर्नुभएको हो ।
कुमार भाष्करले निर्देशन गर्ने चलचित्र ‘कौसिद’को शुक्रबार बिहान चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ । माघ १ गतेदेखि छायांकन हुने चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका हुनेछ । केदार भुषाल र अभिनेत्री शर्माको संयुक्त लगानीमा बन्न लागेको चलचित्रले परिवारको लागि मुख्य पात्रले गर्नुपरेको नैतिक संघर्ष र सम्झौताको कथा बोकेको निर्मात्री शर्माले बताउनुभयो ।
शुक्रबार बिहानै निमात्री एवं नायिका शर्माले फिल्मको टीजर पोस्टर पनि आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ । ऋण कर्जा भुक्तान गर्ने राष्ट्र बैंकको ३५ दिने सूचनालाई पृष्ठभूमिमा राखेर पोस्टर डिजाइन गरिएको छ । पुस १० गतेदेखि फिल्म हल खुलेसँगै चलचित्रसम्बन्धी गतिविधिहरू बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्