४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


पक्राउ परेका चिनी उद्योगी अग्रवाल तारेखमा छुटे


0
Shares

पश्चिम नवलरपरासी । जिल्लाको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन् । किसानहरूको भुक्तानी नदिएको भन्दै बिहीबार प्रहरीले वीरगञ्जबाट उनलाई नियन्त्रणमा लिएर नवलपरासी ल्याएको छ ।

अग्रवाल प्रहरी नियन्त्रणमा परेलगत्तै उद्योगले किसानहरुको भुक्तानी सुरु गरेको थियो । पहिलो चरणमा २ करोड रुपैंया बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक ३० देखि ४० लाख रुपैयाँ किसानहरुलाई इ–सेवामार्फत भुक्तानी सुरु गरेको हो ।

प्रहरी नियन्त्रणमा रहेका अग्रवालले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र उद्योगको नामसारी लगायत ऋणका लागि सुरु गरिएको बैंकिङ्ग प्रक्रिया सकेर किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएपछि एक हप्ताको तारेख दिएर छाडिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिुनभयो ।

हप्ता दिनभित्र प्रक्रिाय पूरा गरेर भुक्तानी नगरे अग्रवाललाई कानुनअनुसार कारबाही प्रक्रिया थाल्नेसमेत प्रजिअ पाठकले बताउनुभयो । उद्योगले करिब ७ सय बढी किसानको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । यता किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवाललाई भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।