१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


असंवैधानिक कदम नसच्चिए राजनीति अन्धकार सुरुङभित्र फस्छ– नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार सुरुङ भित्र फस्ने बताउनुभएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई शुक्रबार सम्बोधन गर्दै नेता सिंहले राष्ट्रपतिले संविधानको भावना र मर्म अनुरुप कार्य गर्न नसकेकाले मुलुक जटिल राजनीतिक दुर्घटनाउन्मुख रहेको बताउनुभयो । राष्ट्रपतिले सरकारको सिफारिसलाई आँखा चिम्लेर सदर गर्दा मुलुक संकटतर्फ धकेलिएको उहाँको भनाइ छ ।

कसैको सनकको भरमा विधि र पद्धति उल्लंघन गर्नु खेदजनक भएको बताउँदै उहाँले असंवैधानिक निर्णय सच्चिनुपर्नेमा जोड दिनुभयो । ‘संविधानले प्रधानमन्त्रीलाई संसद भङ्ग गर्ने सुविधा नदिएकाले अनावश्यक तर्क गरेर विधि र पद्धतिको उपहास गर्नु गलत हो’, उहाँले भन्नुभयो ।

फरक प्रसङ्गमा नेता सिंहले प्रतिनिधि सभा विघटनको असार प्रदेश र स्थानीय तहसम्म पुगेको बताउनुभयो । ‘जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण संसद विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नुभयो, सरकारले चालेको उक्त कदम असंवैधानिक छ ।’

विघटित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता सिंहले केन्द्रदेखि स्थानीय तहका जनप्रतिनिधि जनताको सेवा गर्न छाडेर कमाउ धन्दामा लाग्दा राजनीतिप्रति जनतामा निराशा बढेको बताउनुभयो । नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले स्थानीय सरकारका कारण जनता र जनप्रतिनिधिबीच राम्रो समन्वय हुँदा स्थानीय तहले विकास निर्माणमा राम्रो फड्को मारेको उल्लेख गर्नुभयो ।

बागमती प्रदेशका सांसद छिरिङ दोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलगायत गोकर्णेश्वरको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख चालिसेले गोकर्णेश्वरको विकासका बारेमा तयार पारिएको खाका प्रस्तुत गर्नुभएको थियो ।