
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको राष्ट्रियसभामा पनि आलोचना भएको छ । शुक्रबारबाट सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा मन्तव्य राखेका सत्तारुढ र विपक्षी दलका नेताहरुले प्रतिनिधिसभा विघटनको आलोचना गरेका हुन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीकै कारण संघीय संसदको एउटा अंग मृत्यु शय्यामा पुगेको टिप्पणी गर्नुभयो । सांसद देवले पछिल्लो समय नेपालमा छिमेकी मुलुक चीन र भारतको चलखेल बढेको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।
सांसद देवले राष्ट्रवादको नारा लगाउने नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पनि अहिले बढिरहेको विदेशी चलखेल बारे जवाफ दिनुपर्ने बताउनुभयो । नेकपा ओली समुहकी नेतृ निरु पालले सामाजिक सञ्जालमार्फत संघीयता खारेज गर्न गरेको मागप्रति संकेत गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको संघीयताको प्रतिबद्धतामाथि प्रश्न समेत गर्नुभयो ।
बैठकमा सत्तारुढ दल नेकपाको तर्फवाट मन्तव्य राख्दै नेकपा संसदीय दलका नेता दीनानाथ शर्माले पार्टीको आन्तरिक अन्तरविरोधको कारण जनप्रतिनिधिहरुको सर्वोच्च निकाय प्रतिनिधिसभा विघटन हुन दुःखद भएको टिप्पणी गर्नुभयो ।
शर्माले नेकपा विभाजनको विन्दुमा पुग्दा आफ्नो मुटु फुटेको अनुभव भएको बताउनुभयो । राष्ट्रिय सभाको बैठकमा पहिलो पटक उपस्थित हुनु भएको नेता वामदेव गौतम तर्फ इंकित गर्दै उहाँले रसाइन छ भने पार्टी फुटबाट जोगाउन आग्रह गर्नुभयो । उहाँले आफ्नै गौरव र इतिहास रहेको राष्ट्रियसभामा जनचासोका विषयहरुमा संयमित र मर्यादित ढंगले सहभागी हुन सभाका सदस्यहरुलाई आग्रह गर्नुभयो ।
बैठकमा जनता समाजवादीकी सांसद प्रमिला कुमारीले प्रतिनिधिसभा विघटन २०१७ सालमा राजा महेन्द्रले चालेको कदमको पुनराबृत्ति भएको टिप्पणी गर्नुभयो । राष्ट्रिय सभाको अर्को बैठक यही पुष २३ गते दिउँसो ३ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्