
काठामाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्टिकरण दिएको छ । शुक्रबार उर्जा मन्त्रालयमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरी ३ वर्ष अघि नै लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नआएको बताउनुभयो ।
अहिलेको अवस्थामा केही स्थानमा प्राविधिक कारणले छोटो समयलाई विद्युत आपूर्तिमा अवरोध हुँदा बत्ती गएको शाक्यले दाबी गर्नुभयो । उहाँले अनावश्यक रुपमा विजुली काट्ने कुनै काम नभएको र प्राविधिक कारणले बिजुली काटिएकोलाई लोडसेडिङ भन्न नमिल्ने पनि बताउनुभयो ।
आन्तरिक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गर्नुपर्ने कुनै सम्भावना नदेखिएको शाक्यले दाबी गर्नुभयो । राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत प्रसारण तथा आपूर्तिमा भएको यस्तो अवरोध न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम रहेको पनि उहाँले दाबी गर्नुभयो ।
कोभिडका कारण विद्युत चुहावट करिब डेढ प्रतिशत विन्दुले बढेकोमा अबको आठ महिनामा यसलाई पुरानै स्थितिमा ल्याउने गरी कर्मचारी परिचालन गरिएको पनि उहाँले जिकिर गर्नुभयो । यस वर्ष साढे १४ प्रतिशतमा चुहावट झार्ने लक्ष्य लिए पनि गत वर्षको १५ दशमलव २७ प्रतिशतको हाराहारीमा कायम गर्न सक्षम हुनेगरी काम भइराखेको शाक्यले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्