१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटको फाइनलमा


0
Shares

काठमाडौं । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो।

सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपिएफले मात्र १ विकेट गुमाएर १५ ओभरमा पूरा गरेको हो । एपिएफको लागि ओपनर ज्योति पाण्डेले सर्वाधिक २६ तथा सरिता मगरले १९ रन बनाइन् । यी दुवै खेलाडी अविजित रहे । कप्तान सीता राना मगरले ७ रन योगदान दिइन् । सुदूरपश्चिमको बलिङमा कविता कुँवरले १ विकेट हात पारिन्।

यसअघि, लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो । सुदूरपश्चिमको ब्याटिङमा कविता जोशीले सर्वाधिक २२, रेवती धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ एपीएफकी करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन् । सुदूरपश्चिमका ३ जना खेलाडीहरु रन आउट भए ।

एपिएफ समूह ‘ए’ को विजेता तथा सुदूरपश्चिम प्रदेश समुह ‘बि’ को उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेका थिए । अर्को सेमिफाइनलमा अहिले प्रदेश १ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेता टोलीसंग एपीएफले आइतबार फाइनल खेल खेल्नेछ ।