१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राँकेको रौनकता– पर्यटकीय र आर्थिक केन्द्र बन्ने सम्भावना


0
Shares

प्रकाश नेपाल/शंकर खनाल
इलाम । वरिपरि आँखैमा ठोक्किन आए झैँ देखिने लोभलाग्दो हिमाली हिमश्रृंखलाहरु । एकै छिनमा घाम लाग्ने घमाइलो अनुभूति गर्न सकिने र क्षणभरमै हुँस्सुले बिस्तारै छोप्दै जाने राँके बजारको बिशेषता बिछट्टकै छ ।

पाँचथरको मात्र नभइ पहाही जिल्लाको एउटा पुरानो बजारको रुपमा परिचित राँके बजार निक्कै रमाइलो देखिन्छ । माथि थाप्लोमा हिउँ परिरहेको झैँ देखिन्छ । त्यसमा पनि टलक्कै टल्किएका हिमालले आफैँ यो ठाउँको ब्याख्या गरेझैँ भान गराउँछ ।

झापाको चारआली, इलाम हुँदै बसको नागबेली मोटरबाटो छिचोल्दै राँके बजार पुग्न सकिन्छ । बजार पुग्नुअघि भेटिने स–साना बजारहरुले पनि राँकेसम्म पुग्न हौस्याइरहेको हुन्छ । लकडाउनका कारण राँकेबजारको रौनक केही धूमिल भए पनि बजार बिस्तारै पुरानै लयमा फर्कर्नेमा स्थानीय लक्ष्मीप्रसाद गौतम आशावादी देखिनुहुन्छ ।

सफा र सुन्दर बजारमा व्यापारीहरूले चिटिक्क मिलाएर राखेका सामान कम लोभलाग्दो देखिदैँन । मिलाएर राखिएका अग्र्यानिक अकबरे खुर्सानी, छुर्पी, किबी, ललीपप, कटुस, घिउ, अदुवा, आलु, अलैँची, तरुल, भटमास राँकेका कोशेली हुन् ।

कठ्याङ्ग्रीदो जाडोमा राँकेका कारण मानिसहरु घर भित्रै बस्नु पर्ने हो । तर, व्यापारीक केन्द्र भएकाले पनि व्यापार गर्न तछाडमछाड गरिरहेका छन् । उचाइ रहेको राँकेमा पुस र माघमा हिउँ पर्ने गर्छ । नजिकका मानिसहरू हिउँ खेल्न आउँदा यहाँको रौनक झनै बढ्दै गएको स्थानीय राजेन्द्र गौतम बताउनुहुन्छ ।

पाँचथरको एउटा आशलाग्दो बजार भएर पनि राँकेको सम्बन्ध पाँचथरकोे फिदिम बजारसँग नभइ इलामसँग छ । त्यसो त राँके आसपास घुरसीम पञ्चमी, पौवा भञ्ज्याङ, रक्से, फँलाटे, गोपेटार बजारहरू छन् । तर, रबि, फाल्गुनान्द, देउमाई र फाक्थुम पालिकाका स्थानीय राँकेबजारमै निर्भर छन् ।

मौसम खुलेको समयमा यहाँबाट देखिने दृश्यले सबैलाई लोभ्याइ रहेको हुन्छ । पर्यटकीय आकर्षणको केन्द्र मात्र नभइ ताप्लेजुङको धार्मिक तिर्थस्थल पाथिभरा जाने बाटा पर्ने भएकाले पनि राँकेमा अन्यत्रको भन्दा बढी चहलपहल हुने गरेको छ ।