
काठमाडौं । कोरोनाका कारण रोकिएको कोरियाली भाषा परीक्षा सञ्चालनको टुङ्गो नलाग्दा परीक्षाको तयारीमा जुटेका हजाराैं युवा अलमलमा परेका छन् । आकर्षक रोजगारीको गन्तव्यका रुपमा रहेको दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली कामदार लैजाँदै आएको छ ।
कोरियाले प्रत्येक वर्ष भाषा परीक्षा उत्तीर्ण हुने नेपाली युवालाई त्यहाँ रोजगारीको अवसर प्रदान गर्दै आएको छ । कोरियाले अझै पनि भाषा परीक्षा कहिले गर्ने भनेर टुङ्गाे लगाउन सकेको छैन । यस्तै परीक्षा प्रणालीका बारेमा पनि निर्क्याेल हुन सकेको छैन ।
कोभिड–१९ का कारण सन २०२० मा पनि भाषा परीक्षा सञ्चालन हुन सकेको छैन । गत वर्ष भाषा परीक्षा सञ्चालन हुन नसके पनि यस वर्ष परीक्षा सञ्चालन गर्ने मौखिक जानकारी आएको इपिएस कोरिया शाखाले जनाएको छ ।
कोरियाले भाषा परीक्षा सञ्चालन गर्ने भने पनि कहिले र कसरी गर्ने भन्ने विषयमा अझै स्पष्ट पारेको छैन । दक्षिण कोरियाले सन २०२१ मा विभिन्न १६ मुलुकबाट ५२ हजार आप्रवासी कामदार लिने घोषणा गरेको छ । कोरोनाका कारण कोरियाले गतवर्षको तुलनामा चार हजार कम विदेशी कामदार लिन लागेको बताइएको छ ।
नेपालबाट वार्षिक आठ हजारको हाराहारीमा युवा कोरिया जाने गरेका छन् । सन २०१९ मा सात हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हाल कोरियामा लगभग ३१ हजार नेपाली कार्यरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्