
एजेन्सी । भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनको कोभिड– १९ सम्बन्धी विशेषज्ञ समितिले अक्सफोर्डको कोरोना खोपलाई प्रयोगमा ल्याउने आपतकालीन अनुमति दिएको छ । अनुमतिसँगै भारतमा खोप लगाउने बाटो खुलेको छ ।
बेलायतको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माता कम्पनी एस्ट्रेजेनेकाको सहयोगमा यो खोप बनाएको हो । भारतको पुणे स्थित सीरम इन्स्टिच्यूट अफ इण्डियाले एस्ट्रेजेनेकासँग खोप उत्पादन गर्ने सम्झौता गरेको छ । सीरम इन्स्टिच्यूट अफ इण्डिया विश्व कै सबै भन्दा ठूलो खोप निर्माता कम्पनी हो ।
सीरम इन्स्टीच्यूटका अतिरिक्त अमेरिकन र जर्मन कम्पनी फाइजर र बायोटेकले पनि भारत सरकारसँग आफ्नो फाइजर खोपका लागि अनुमति मागेको थियो । बेलायतले यस अघि नै फाइजर खोपलाई अनुमति दिइसकेको थियो ।
फाइजरको खोपलाई माइनस ७० डिग्री सेल्सियसको तापमानमा राख्नु पर्ने हुन्छ । यसले गर्दा गरिब तथा अविकसित देशका लागि फाइजरको भ्याक्सिन भण्डारण तथा वितरणमा ठूलो चुनौती हुने बताइएको छ । अक्सफोर्डको भ्याक्सिनलाई भने सामान्य तापमान नै राख्न सकिन्छ । भारतले नेपाल लगायत आफ्ना मित्र देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराउने बाचा गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्