
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुंदैछ । दाङको लमहीमा प्रदेश नम्बर–१ र विभागिय टिम एपीएफबीच उपाधि भिडन्त हुंदैछ । हिजो भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ फाइनल पुगेको थियो ।
सुदूरपश्चिमले दिएको ६१ रनको लक्ष्य एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले अविजित रहदै २६ रन जोडिन । यस्तै सरिता मगर १९ रनमा अविजित रहिन् । सुदूरपश्चिमकी कविता कुँवरले १ विकेट लिईन् ।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ७ विकेट गुमाएर ६० रन बनाएको थियो । बाक्लो हुस्सुको कारण ढिला सुरु हुँदा खेल १६ ओभरमा घटाइएको थियो । त्यस्तै हिजै भएको दोस्रो सेमिफाइनलमा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्यो ।
लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश १ ले ८ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश १ को लागि रुबिना क्षेत्रीले अविजित रहदै २६ रन जोडिन । यस्तै काजल श्रेष्ठ २२ रनमा अविजित रहिन । यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन जोड्दा अन्य ब्याट्सवुमनले रन जोड्न सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न प्रदेश १ की संगीता राई र निग्मा तामाङले २–२ विकेट लिईन ।
प्रतिक्रिया दिनुहोस्