१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम हुनुहुन्छ: मन्त्री फुँयाल


0
Shares

काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताउनुभएको छ । आज रासससँग कुरागर्दै मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गर्नुभयो ।

उहाँले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा सदस्यले गरेका हस्ताक्षरको दुरुपयोग भएको पाइएको तथा प्रस्तावमा हस्ताक्षर गरिएका सदस्यले आफ्नै दलका नेताविरुद्ध अविश्वासको प्रस्तावमा आफ्नो नाम र हस्ताक्षर कीर्ते भएको बताएको उल्लेख गर्नुभयो ।

उहाँले कसैलाई मुख्यमन्त्री बनाउन वा बनिन विकास र समृद्धिको अभियानलाई नै गम्भीर असर पर्ने गरी थालिएको अस्थिरताको बिजारोपण रोकिने र अमूक व्यक्तिको मुख्यमन्त्री हुने रहरलाई ‘भित्ते मुख्यमन्त्री’ को रूपमा सीमित पारिने दाबी गर्नुभयो ।

मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले गरेको कामहरुबाट आत्तिएका व्यक्तिहरुले गलत मनासायले सरकारलाई असफल देखाउन हस्ताक्षरको समेत कीर्ते गरी अविश्वासको प्रस्ताव दर्ता गरिएको उहाँको आरोप थियो । रासस