
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन हुने बताउनुभएको छ ।
आफू पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीद्वारा आयोजित उपत्यका स्तरीय कार्यकर्ता भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उहाँले तोकेकै मितिमा निर्वाचन हुने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले संविधान र कानूनले विघटित संसद पुनर्स्थापना गर्न नमिल्ने भन्दै संसद नबौरिने बताउनुभयो । देशलाई अलमलमा बस्न नदिन निर्वाचन आवश्यक रहेको उहाँको भनाइ छ ।
पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेकोमा तथा संविधान संशोधन भएकोमा बाहानामा गुटबन्दी गरेकोले संगठन गतिशील नभएको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई पार्टीका बैठकमा फर्किन आग्रह गर्दै बैठकमा आए अपराध क्षमा गरिदिने बताउनुभयो ।
कार्यक्रममा मन्त्रीहरुले सरकारले तीन बर्षको अवधिमा गरेका राम्रा कामलाई लिएर जनतामाझ जान आग्रह गर्नुभएको छ । ओली पक्षीय विद्यार्थीहरुले अब १० लाख सदस्यता वितरण गर्ने भन्दै इतर पक्षलाई आफ्नो शक्ति नजरअन्दाज नगर्न चुनौती दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्