२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


हुम्ला र जुम्लामा भारी हिमपात, किसान खुशी, हवाई सेवा बन्द


0
Shares

काठमाडौं । हुम्लामा भारी हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । हिजो दिउँसोदेखि वर्षा भएसँगै चिसो बढेर हिमपात भएको हो । मौसममा आएको बदलीसँगै एक्कासी बाक्लो हिमपात भएर जमिनमा बाक्लो हिउँ जमेको छ ।

जिल्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकाका क्षेत्र हिमपातले सेताम्य भएका छन् । वर्षासँगैको हिमपात भएकाले बाली सप्रिने भन्दै किसानहरु खुशी भएका छन् । चिसो निक्कै बढेपछि मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् ।

हिमपातका कारण जेष्ठ नागरीक तथा बालबालीकालाई भने चिसोले समस्या परेको छ । हिमपातका कारण हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा पनि बन्द भएको छ ।

तस्बिर स्रोत: रोयलदन्त ठकुरी

उता, जुम्लामा पनि भारी हिमपात भएको छ । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ परेको खबर छ ।

हिउँले डाँडाकाँडा सेताम्य भएका छन् । हिमपातले गर्दा हवाई उडान नै रोकिएका छन् । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तापक्रम माइनसमा झर्दा चिसो बढेको छ ।