१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


‘गन्डकी प्रदेशका ८५ ओटै स्थानीय तहमा फुटबल मैदान निर्माण गरिन्छ’


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, साउन ५ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ८५ ओटै स्थानीय तहमा फुटबल मैदान निर्माण गर्ने बताएका छन् ।

शनिबार पोखरामा आयोजित कार्यक्रममा खेलकुदले स्वस्थ नागरिक उत्पादन र खेल पर्यटनको विकासबाट समृद्धिमा टेवा पुग्ने भन्दै उनले प्रदेश सरकारले आगामी पाँच वर्षभित्रै फुटबल मैदानहरु निर्माण गर्न लागेको जानकारी दिए ।

‘गन्डकी क्षेत्र फुटबलको होमग्राउन्ड पनि हो । खेल पर्यटनबाटै समृद्धिको ढोका खुल्छ । तसर्थ, सरकारले पाँच वर्षभित्र प्रदेशका ११ ओटै जिल्लाअन्तर्गत् ८५ स्थानीय तहमा फुटबल मैदान बनाउनेछ’–उनले भने ।

उनले प्रदेश राजधानी पोखरामा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने योजना अघि सार्दा यस विषयमा सरोकावाला निकायले हालसम्म आफूसँग परामर्श नगरेको गुनासो गरे ।

कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति आइसकेपछि पूर्वघोषित योजनाअनुरुप आफूहरु नयाँ ढंगले अघि बढ्न खोजेको बताए ।

उनले नयाँ विधानका लागि मस्यौदा गरिरहेको तथा प्रदेश संघ र जिल्ला संघलाई पनि सशक्तिकरण गर्दै अघि बढ्न प्रदेशस्तरमा छलफल चलाएको बताए ।

बाल दिवसका दिन २७ भदौदेखि सुरु गर्नेगरी ४५ जिल्लाका करिब पाँचदेखि १० हजारजना बालबालिकालाई फुटबल प्रशिक्षण दिने जनाए ।

उनकाअनुसार ६ देखि १० वर्षसम्म उमेर समूहका बालबालिकाहरुलाई ‘ग्रासरुट’बाट प्रशिक्षण सुरुआत गरी फुटबल विकासमा दूरदर्शी लक्ष्य बनाइनेछ ।

केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयबाट फुटबलका लागि भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले पोखरामा अर्को वर्षदेखि ६० जनालाई फुटबल प्रशिक्षण दिनेगरी टेक्निकल सेन्टर निर्माण गर्ने जानकारी पनि दिए ।