
काठमाडौं । स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको नागढुङ्गा चेकपोस्टबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तु वाणगङ्गाका सङ्गम थारु रहेका छन् ।

कपिलवस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३, २३ च २२५९ नम्बरको कार जाँच गर्दा कारको डिकिभित्र स्पेयर टायर राख्ने ठाउमा लुकाइ राखेको अवस्थामा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उक्त रकम हुण्डी अथवा सुन कारोबारमा प्रयोगका लागि ल्याइएको हुन सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताउनुभयो ।

पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्