१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधि सभा विघटनविरुद्ध किन भएन संयुक्त आन्दोलन ? (भिडियो)


0
Shares

अक्कल कुँवर
काठमाडौं । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दलहरू सडक आन्दोलनतिर लागेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको दलहरूको साझा निष्कर्ष भएपनि संयुक्त आन्दोलनमा भने जान सकेका छैनन् ।

आन्दोलनरत दलहरूले संसद विघटनविरुद्ध पहिलो चरणका विरोधका कार्यक्रम सकेर दो्रस्रो चरणका विरोधका कार्यक्रम पनि छुट्टाछुट्टै ल्याएसँगै प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन संयुक्त आन्दोलनको सम्भावना सकिएको छ ।

संसद विघटन लगत्तै नेपाली कांग्रेसको अगुवाइमा नेकपाको दाहाल–नेपाल समूह र जनता समाजवादी पार्टी जसपाको संयुक्त बैठक बस्यो । बैठकले संसद विघटन गैरसंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संयुक्त आन्दोलनको महसुस गर्‍यो । तर, संसद विघटनको कदमप्रति एउटै धारणा भएपनि दलहरूले छुट्टाछुट्टै आन्दोलन गरिरहेका छन् ।

संयुक्त आन्दोलनको सम्भावना नभएपछि दलहरूले छुट्टाछुट्टै रूपले दोस्रो चरणका विरोधका कार्यक्रम घोषणा गरेका छन् । नेकपा दाहाल–नेपाल समूहले संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेसलाई प्राथमिकतामा राखेर सहकार्यको प्रस्ताव राखेको थियो । तर, कांग्रेसले आफ्नो छुट्टै अस्तित्व रहेकाले एकल रूपमा सडकमा जाने निर्णय गर्‍यो ।

दाहाल–नेपाल समूहको सहकार्यको प्रस्ताव अस्विकार गरेको कांग्रेसले एकल रूपमा दोस्रो चरणको विरोधको कार्यक्रम सार्वजनिक गसिकेको छ र आगामी दिनमा पनि एक्लै आन्दोलन गर्ने निर्णय गरेको छ ।

संसद विघटनविरुद्ध कांग्रेस लगायतका दलले संयुक्त विरोध गर्न नमानेपछि आफ्नो दोस्रो चरणको आन्दोलन घोषणा गरेको नेकपा दाहाल–नेपाल समूहले सहकार्यको आशा भने जिवितै राखेको छ ।
संसद विघटनलाई गैरसंवैधानिक र अलोकतान्त्रिक भन्दै विरोध गरिरहेको जसपा पनि नेपाली कांग्रेस जस्तै तत्काल संसद विघटनविरुद्धको आन्दोलनमा अन्य दलसँग सहकार्य गर्ने पक्षमा छैन ।

जसपाले संविधान संशोधन, पुर्नलेखन लगायतका आफूहरूका मुद्दामा सहमति नजुटेसम्म संसद विघटनविरुद्धको आन्दोलनमा अन्य दलहरूसँग सहभागी नहुने स्पष्ट पारेको छ । संसद विघटनको विरुद्धमा रहेको राप्रपाले पनि एक्लै विरोधका कार्यक्रम गरिरहेको छ ।

जसपा जस्तै राप्रपाको पनि संयुक्त आन्दोलनका लागि पार्टी अघि सारेका एजेण्डामा अन्य दलहरूले पनि सहमत हुनुपर्ने तर्क अघि सारेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध ठूलो जनमत सडकमा भए पनि दलहरूका आ–आफ्नै एजेण्डा, स्वार्थ र आगामी दिनमा उत्पन्न हुनसक्ने राजनीतिक परिदृष्यका कारण प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्ष संयुक्त नहुने निश्चित छ ।
क्यामरा– भरत केसी र सुयेश मानन्धर