
काठमाडौं । कोरोना भाइरसको उद्गम स्थलबारे वुहानमा अध्ययन गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको टिमलाई चीन प्रवेश गर्न दिइएको छैन ।
चीनले सो टोलीलाई प्रवेशमा रोक लगाएको हो । डब्लुएचओको टिममा रहेका दुई सदस्य यसअघि नै चीनका लागि प्रस्थान गरेका थिए । एकजना प्रवेश नपाएपछि फर्किएका छन् भने अर्का एकजना तेस्रो मुलुकमा ‘ट्रान्जिट’ मा छन् ।
भिसामा समस्या देखिएका कारण प्रवेशमा समस्या भएको डब्लुएचओले जनाएको छ । अध्ययनबारे लामो वार्तापछि बेइजिङ्ग र डब्लुएचओबीच सहमति भएको थियो । कोरोना भाइरसको उद्गमस्थल वुहानको मासु बजारबाट कोरोना भाइरसले जनावरबाट मानिसमा संक्रमणको क्रम थालेको विश्वास गरिन्छ । तर, त्यसबारे स्पष्ट हुन डब्लुएचओले विज्ञसहितको अनुसन्धान टोली बनाएको छ ।
चीनले अहिलेसम्म पनि अध्ययन टोलीको आगमन प्रक्रियालाई पूर्णता नदिएको विषयले गम्भीर रूपमा निराश बनाएको डब्लुएचओका प्रमुख टेड्रोस एडहानम ग्रबेयससले बताएका छन् । चीनले आन्तरिक प्रक्रिया तीव्र रूपमा पूरा गरेर टिमको प्रवेश चाँडै सुनिश्चित हुने आश्वासन पाएको उनले बताएका छन् ।
अध्ययनका लागि डब्लुएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञहरूलाई चीन पठाउने तयारी गरेको छ । गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्