२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रोत्साहन भत्ता माग्दै खेलकुदमन्त्रीलाई ज्ञापनपत्र


0
Shares

काठमाडौं । गत साउन देखि रोकिएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन माग गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले बुधबार युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा पुगेर एनएनआइपिएले राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई दिइँदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन ध्यानकर्षण पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेलाडीलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा दिलाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । गत वर्ष नेपालमा नै सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । तर, ती स्वर्ण पदक विजेताले अहिले सम्म प्रोत्साहन भत्ता पाएका छैनन् ।

प्रोत्साहन भत्ताका विषयमा कार्यविधिको मस्यौदा तयार गर्न ७ सदस्यीय समिति गठन गरेको मन्त्री लामाले जानकारी दिनुभयो । आर्थिक वर्षसम्म प्रत्येक ओलम्पियनले मासिक ४ हजार, एसियाली खेलकुदका पदक विजेताले प्रति पदक ६ हजार र सागका स्वर्ण पदक विजेताले प्रति पदक ६ हजार रुपैयाँ प्रोत्साहन बापत प्राप्त गर्दै आएका थिए ।