
काठमाडौं । अमेरिकी संसदमा भएको तोडफोड र हिंसाको घटनालाई विश्व नेताहरुले निन्दा गरेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकी संसदमा देखिएको दृश्यलाई लज्जास्पद भएको टिप्पणी गर्नुभएको छ ।
लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण शक्ति हस्तान्तरण हुनु महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी लोकतन्त्रमाथिको हमलाले आफूलाई चिन्तित बनाएको बताउनुभएको छ ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि अमेरिकी संसदमा भएको हमलाको निन्दा गर्दै दुःख व्यक्त गर्नुभएको छ । हिंसाले जनताको भावनालाई जित्न नसकिने उहाँको भनाइ छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले ट्वीट गर्दै अमेरिकी परम्पराअनुसार सत्ताको हस्तान्तरण हुनुपर्नेमा जोड दिनुभएको छ ।
न्यूजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेनले क्यापिटल हिलमा भैरहेको विकासक्रमलाई नियालिरहेको भन्दै लोकतन्त्रको जित हुनेमा शंका नरहेको पनि उल्लेख गर्नुभएको छ ।
स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अमेरिकी लोकतन्त्रमा आफूलाई विश्वास रहेको उल्लेख गर्दै लोकतन्त्रको जित हुने बताउनुभएको छ । जर्मनीका विदेशमन्त्री हेड्को मासले निर्वाचनको नतिजालाई स्वीकार्न ट्रम्प प्रशासनलाई आग्रह गर्नुभएको छ ।एजेन्सी
प्रतिक्रिया दिनुहोस्