७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


‘शिवको कैलाश मानसरोवरदेखि भारतको विश्वनाथ पुग्ने करिडोर’ बर्दियाकोओम केदारेश्वर!


0
Shares

केशव कोइराला (इमेज)
बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकास्थित ओम् केदारेश्वर धाममा भक्तजनको चहलपहल सुरु भएको छ । पर्यटन वर्ष घोषणा भएसँगै लाखौ विदेशी पर्यटक भित्र्याउने सरकारी लक्ष्यमा कोभिड– १९ का कारण धार्मिक एवं पर्यटकीय गन्तब्यहरुमा असर परेको थियो । तर अहिले ती देवालय तथा पर्यटकीय स्थलमा भक्तजनहरुको चहलपहल शुरु भएको हो ।

बर्दियाको बासगढीमा अवस्थित ओम केदारेश्वर धाममा भक्तालुहरुको आवागमन शुरु भएको छ । यस क्षेत्रकै नमुनाको रुपमा मानिने एक सय ८ फिट उचाई रहेको ज्योर्तिलिङ्ग धामको अदुभुत कलाको रुपमा हेरिन्छ । सत्ययुगमा भगवान शिवले कैलाश मानसरोवरदेखि भारतको विश्वनाथ धाम पुग्ने करिडोरको रुपमा लिइएको यो धाम जंगल क्षेत्रमा पर्दछ ।

कोभिड– १९ का कारण बन्द रहेको धाममा केही दिन यता भक्तजनको चहलपहल बढ्न थालेको आन्तरिक पर्यटक भरत महतोको भनाइ छ । सरकारले ओम केदारेश्वर धामलाई नेपालको पुग्नै पर्ने सयौ गन्तव्यमध्येको एक स्थलको रुपमा घोषणा गरेको छ । बाँसगढी नगरपालिकाले केही भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गरेको छ । हिन्दु धर्मावलम्वीहरु लाखौ खर्चेर छिमेकी देशका तीर्थस्थल गए पनि पवित्र केदारेश्वर तीर्थमा एक पटक पुग्नै पर्ने बताइन्छ ।

यसको छुटै धार्मिक विश्वास रहेको छ । कोभिडले बन्द भएको ओम् केदारेश्वर धाममा अहिले आन्तरिक तथा बाह्य पर्यटकसमेत आउन शुरु गरेको ट्रष्टका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद बास्तोला बताउनुहुन्छ । धाम क्षेत्रमा विविध धार्मिक संरचना निर्माण गरिएका छन् ।

धाम क्षेत्रभित्र १ सय ८ गौमुखी धारा, १ सय ८ तुलसी मोठ, ३ सय ८४ सिढी कैलाश मार्गलगायतका धार्मिक पूर्वाधारहरु निर्माण गरिएका छन् । भगवान शिवको परिवारले बास बस्ने क्षेत्र रहेकाले पनि केदारेश्वर धाम धार्मिक पुण्य क्षेत्रका रुपमा मानिएको हो ।

पवित्र सर्जुतटमा अवस्थित केदारेश्वर वन क्षेत्रमा भगवान शिवले कालो मृगको रुप धारण गरेको धार्मिक विश्वासका साथ यस क्षेत्रमा यस्तो धाम निर्माणका निम्ति कल्पना गरिएको धामका परिकल्पनाकार लिलाधर शर्माको भनाइ छ ।

पुर्वपश्चिम राजमार्गमै पर्ने ओम केदारेश्वर धामले आफनै धार्मिक महत्व बोकेको छ । ओम केदारेश्वर धामलाई अन्र्तराष्ट्रिय स्तरको तीर्थस्थल बनाउन सरकारले पहल गर्नुपर्ने स्थानीयको माग छ ।