
डोलराज रानाभाट (इमेज)
चितवन । जिल्लाको माडीमा अयोध्याधाम निर्माण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा घोषणामै सिमित भएको छ । मर्यादा पुरुषोत्तम श्रीराम नेपालमै जन्मिएको जिकिर गर्दै माडीमा अयोध्याधाम निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणाबाट हौसिएका माडिबासी अहिले काम नहुँदा निराश भएका छन् ।
गएको भानुजयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमै भएको दावी गर्दै माडिमा अयोध्याधाम बनाउने बचन दिनुभयो । उहाँले माडीको अयोध्यापुरीमा अयोध्याधाम, राम मन्दिर बनाउन भन्दै सरोकारवालाहरूलाई प्रक्रिया अघि बढाउन पनि निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको यो वचनले हौसिएका माडीवासी अहिले प्रधानमन्त्रीको कुरा यता न उता हुँदा बिलखबन्दमा परेका छन् ।
८८ वर्षीय इन्द्रप्रसाद अधिकारी आफ्नो गाउँमा अयोध्या बन्ने खबरमा उत्सहित थिए । तर, राम नेपालमा जन्मिएका हुन् भनेर उक्साउने मान्छे नै, तै चुप मै चुप हुँदा उनीसँगै माडिवासी अन्योलमा परेका छन् । ऐतिहासिक प्रमाणले पनि राम माडिमै जन्मिएको भएकाले कुरामात्र भन्दा पनि काम गर्नुपर्नेमा उनको जोड छ ।
प्रधानमन्त्रीको भनाइ पछि चर्चा पाएको माडि–९ मा बरु स्थानीय हरिलाल आचार्यले कुरा नगरी सानो राम मन्दिर निर्माण गरेर काम देखाएका छन् । मन्दिर निर्माणको लागि ओलीले शुभकामना सन्देश मात्र पठाउँदा पनि माडि बन्ने भो भनेर तातेका स्थानीयवासी अहिले भने ओलीको गफ मात्रै रैछ भनेर निराश भएका छन् ।
अमेरिकाको बसाइ छोट्याएर आएका तुलसीराम शर्माले पनि भगवान रामको चरित्रलाई समेटिएको हनुमान चालिसा काण्ड गायन गरेर माडिलाई थप चिनाउन थालेका छन् । तर, अहिले माडिको चर्चा सेलाउँदै जाँदा उनको जाँगर पनि सेलाउँदै जान थालेको छ ।
माडी नगरपालिकाले पनि कृष्णनगर पार्कमा एकसय विघा सार्वजनिक जग्गामा अयोध्याधाम बनाउने गरी सिफारिस गरेको छ । तर, त्यसपछि कुनै पनि काम अगाडि बढेको छैन । राजनीतिक खिचातानी, विभिन्न पदमा आफन्तको नियुक्ति र अध्यादेश ल्याउन अलमलिएको सरकारले अयोध्याधाम निर्माणको कुनै पनि विषयप्रति ध्यान नदिँदा बोल्नेमात्रै प्रधानमन्त्रीको प्रवृतिप्रति चित्त दुखाएका छन् ।
अयोध्याधाम अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणी पौडेलले पनि अब प्राविधिक पठाएर सिफारिस गरिएको जग्गाको अनुसन्धान तथा स्टिमेटको काम पनि अलपत्र पर्न थालेको बताएका छन् । सरकारले बजेट उपलब्ध गराइदिए कामलाई अगाडि बढाउने उन्को इच्छा पनि मर्दै गएको छ ।
बिरामी भएर अस्पतालमा रहेका वडाअध्यक्ष शिवहरी सुवेदीको मोबाइलमा प्रधानमन्त्री ओलीको फोन आउँदा उनी जति खुशी थिए अहिले त्यतिनै दुःखी छन् । अयोध्याधामबारे चासो राखेका ओलीसँग भएको कुराकानी सम्झँदै उनले अझैसम्म निर्णयहरू कार्यान्वयन नभएको दुःखेसो व्यक्त गर्छन् ।
अयोध्याधाम बनेमा माडीवासीमा फेरि खुशी ल्याउने थियो । तर, केहि अगाडिसम्म तातेको माडिको माहोल अहिले सेलाउँदै जाँदा माडिलाई मणि बनाउने उनीहरूको आशा पनि निराशामै सीमिति होला जस्तो देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्