७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा महिला सैनिक


13
Shares

प्रज्ञा तिमिल्सिना (इमेज)
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने क्रम सुरु भएसँगै शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनाले पायो । त्यसयता सेनाबाट २ हजार ८ सय ५६ जनाको शव व्यवस्थापन भएको छ । यो कार्यमा सेनाले महिलालाई समेत परिचालित गरेको छ ।

उपत्यकामा मात्र १ हजार ४ सय ३२ जनाको शव व्यवस्थापन भएको छ । त्यसमध्ये १३ वटा शव व्यवस्थापन महिला सैनिकबाट भएको नेपाली सेनाले जनाएको छ । महिला सैनिकबाट बिहीबारमात्र कोरोना संक्रमणबाट मृत्यु भएका तीन जनाको शव व्यवस्थापन गरियो ।

यसअघि कात्तिक २८ गते ६ र मंसिर २५ गते ४ जनाको शव यही टोलीले व्यवस्थापन गरेको थियो ।
यसरी शव व्यवस्थापनजस्तो जटिल कार्यमा संलग्न हुन पाएकोमा उनीहरू निकै खुसी देखिन्छन् ।
शव व्यवस्थापनमा संलग्न भएपछि सैनिक महिला एक साता क्वारेन्टिन बस्ने गर्छन् । सेनाले होम आइसोलेसन वा अस्पतालमै कोरोना संक्रमणका कारण ज्यान गुमाएकाहरूको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लगेर अन्तिम संस्कार गर्ने गरेको छ ।

सेनाले व्यवस्थापन गरिरहेको शवको तथ्याङ्क र स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्ने गरेको मृतकको संख्यामा भने ठुलो अन्तर देखिन्छ । मन्त्रालयले १ हजार ९ सय ३ जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गरेको छ, जुन सेनाले शव व्यवस्थापन गरेको भन्दा करिब एक हजार कम हो ।

यसले सरकारी तथ्याङ्कमाथि नै गम्भीर प्रश्न उठाएको छ । स्वास्थ्य मन्त्रालयले हालसम्म चित्तबुझ्दो जवाफ दिन सकेको छैन ।

भिडियो हेर्नुहोस्

भिडियो : राजेन्द्र नापित