२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्री विरुद्ध गृह जिल्लामा दिनहुँ प्रदर्शन (भिडियो)


0
Shares

सुरेन्द्र भण्डारी (इमेज)
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री ओलीकै गृह जिल्ला झापामा दिनहुँजसो सरकारका विरुद्ध विरोधका स्वरहरु उर्लिरहेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेपाल–दाहाल समूह सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य पार्टीले समेत प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै ओलीकै गृह जिल्ला झापामा दिनहुँ जसो विरोधका कार्यक्रम भइरहेका छन् ।

अरुण पूर्वका नौ जिल्लालाई छुट्टै लिम्बूवान प्रान्त बनाइनु पर्ने माग सहित आन्दोलनमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले सरकारले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध मात्रै जनाएन आफूहरु देशको वैकल्पिक शक्तिका रुपमा रहेको भन्दै सरकारले आफ्नो निर्णय नसच्याए जस्तो सुकै कदम चाल्न लिम्बूवान पछि नहट्ने चेतावनी समेत दिएको छ ।

त्यसोत सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेपाल – दाहाल समूह आफैं पनि आन्दोलनमा छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले चालेका कदम असंवैधानिक भएको भन्दै ओलीकै गृह जिल्ला झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन समेत गरिएको छ ।

नेकपाकै विद्यार्थी संघठनले राके जुलुस दिनहुँजसो विरोध प्रर्दशन गरिरहेका छन् । पूर्वमा वैकल्पिक शक्तिका रुपमा उदाउँदै गरेको दल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका झापा अध्यक्ष धनवहादुर पङ्धाक सुब्बाले सरकारको नेतृत्व गरेको दल नेकपाले वहुमत पाएको अवस्थामा पनि नेपाली जनतालाई धोका दिएर मुलुकलाई अस्थिरता तर्फ धकेलेको आरोप लगाउनुभयो ।

सरकारको प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेसले पनि सरकारको पछिल्लो कदमका विरुद्ध आन्दोलन गरिरहेको छ । प्रधानमन्त्री ओलीले चालेको पछिल्ला कदमले सहिदहरुको बलिदानले ल्याएको लोकतन्त्रनै गुम्ने खतरा भएको भन्दै नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले सरकारले २०७८ वैशाख १७ र २७ गरी दुई चरणमा गर्ने भनेको निर्वाचन समेत हुन नसक्ने दावी गर्नुभयो । झापालाई सत्तारुढ दल नेकपाको ओली समूहको पकड जिल्ला मानिन्छ । तर, पछिल्लो समय सत्तारुढ दल नेकपाकै नेपाल – दाहाल समूह सहित अन्य दलले पनि सरकारको विरुद्धमा विरोधका स्वरहरु उराल्न थालेपछि झापाली नागरिकमा अन्यौलता छाएको प्रस्ट देख्न सकिन्छ ।