१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी चिनी उद्योगद्वारा किसानलाई तिनुपर्ने रकम बैंक खातामा जम्मा


0
Shares

पश्चिम नवलरपरासी । जिल्लाको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई तिर्नु पर्ने सबै रकम बैंक खातामा जम्मा गरेको छ । रकम नतिरेपछि प्रहरीले उद्योगी मनोज अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

हप्ता दिनभित्र रकम जम्मा गर्ने जिल्ला प्रशासन कार्यालयमा प्रतिबद्धता जनाएअनुसार अग्रवालले सबै रकम बैंकमा जम्मा गरेका हुन् । उद्योगले किसानलाई २ वर्ष यताको ७ करोड ८० लाख रुपैयाँ तिर्न बाँकी थियो । पहिलो चरणमा उद्योगले खातामा ३ करोड ८० लाख रुपैयाँ जम्मा गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

भुक्तानी दिनुपर्ने बाँकी ४ करोड रुपैयाँ नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखामा रहेको रकममध्येबाट तिर्ने भनी अग्रवालले प्रशासन कार्यालयमा बैंक स्टेटमेन्ट बुझाएका छन् । बैंक स्टेटमेन्ट अनुसार अपुग ४ करोड रुपैयाँ अग्रवालको खातामा होल्ड गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको छ । लुम्बिनी चिनी उद्योगको स्वामित्व मनोज अग्रवालका नाममा आउने बित्तिकै उद्योगको खातामा रकम पठाएर वितरण सुरु गरिने प्रमुख जिल्ला अधिकृत पाठकले बताउनुभयो ।

तत्कालीन सञ्चालक मनिष अग्रवालको निधनपछि उद्योगको स्वामित्व उनकी पत्नी सुशिला गोयलको नाममा छ । अंशवण्डाका क्रममा उद्योग मनोजको भागमा परेकाले केही दिनमा स्वामित्व हस्तान्तरण भएपछि खातामा होल्ड गरिएको रकम वितरण गरिने प्रशासनले जनाएको छ ।

यता, किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगले भने अहिलेसम्म रकम तिरेको छैन । पक्राउ पुर्जी जारी गरिएका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेर किसानको रकम भुक्तानी गराउने तर्फ पहल नगरिएको किसानहरुको गुनासो छ । अग्रवालको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ ।