
काठमाडौं । भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेटको पहिलो ईनिङ्समा अष्ट्रेलियाले ३ सय ३८ रन बनाएको छ । सिड्नीमा वर्षाले प्रभावित बनेको तेस्रो टेस्टको दोस्रो दिन घरेलु टोली ३ सय ३८ रनमा अलआउट भयो ।
१ सय ६६ रनमा २ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको अष्ट्रेलियाले १ सय ७२ रन जोड्दा बाँकी विकेट गुमायो । अष्ट्रेलियाका लागि पूर्वकप्तान स्टिभ स्मिथले शतकीय पारी खेले । स्मिथले २ सय २६ बलमा १६ चौका सहित १ सय ३१ रन बनाए । स्मिथको यो टेष्ट करिअरको २७ औं शतक हो ।
७१ औं ओभरमा मार्नस लाबुसेन ९१ रनमा क्याच आउट हुन पुगे । भारतका स्पिनर रविन्द्र जडेजाले १८ ओभरमा ३ मेडन राख्दै ६२ रन खर्चेर ४ विकेट लिए । नवदीप सैनी र जस्प्रित बुमराहले समान २–२ विकेट लिए । मोहम्मद सिराजको नाममा १ विकेट रह्यो । चार टेष्ट खेलको सिरिज दुई खेल सकिँदा १–१ को अवस्थामा छ ।
अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङ्समा भारतले मध्यम सुरुवात गरेको छ । अष्ट्रेलियालाई अलआउट गर्दै पहिलो इनिङ्स थालेको भारतले दोस्रो दिनको खेल सकिदा सामान्य प्रदर्शन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्