१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गौतमद्वारा नेकपाको ‘एकता राष्ट्रिय अभियान’ घोषणा, एकताको पक्षमा लाग्न आग्रह


0
Shares

काठमाडौं । नेकपा विभाजन पछि कुनै पनि समूहमा नलाग्नुभएका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गर्नुभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै उहाँले पार्टी विभाजन रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ ।

उहाँले जो जुन ठाउँमा छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्न र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउन आग्रह समेत गर्नुभएको छ । शीर्ष नेताहरुको कमजोरीका कारण पार्टी विभाजनको स्थितिमा आइपुगेकाले नेताहरुलाई एकताका पक्षमा खबरदारी गर्न र पार्टी एकताका पक्षमा उभिन दबाब दिन गौतमले वक्तव्यमा आग्रह गर्नुभएको छ ।

उहाँले पार्टी विभाजनको अवस्थामा आइपुग्नुका पछाडि दुवै अध्यक्षहरु उत्तिकै जिम्मेवार रहेको उल्लेख गर्नुभएको छ । अविश्वासको प्रस्तावको सामना गर्न नसक्ने अवस्था भए राजीनामा दिनुको सट्टा प्रतिनिधिसभा नै भंग गर्ने प्रधानमन्त्रीको कदम झनै गलत रहेको गौतमले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । कमी कमजोरीलाई सच्याएर फेरि एकताका लागि तयार हुन गौतमले दुई अध्यक्षसहित नेतृत्वमा रहेका नेताहरुलाई अपिल गर्नुभएको छ ।

कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्न, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्न गौतमको आग्रह छ । ‘पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेता पुनःएकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन्’, गौतमको विज्ञप्तिमा उल्लेख छ ।

गौतमले नेकपाको दुवै समूहमा रहेका नेता तथा कार्यकर्तालाई पनि लडाइ बन्द गरी एकतावद्ध हुन आग्रह गर्नुभएको छ । हजारौं शहीदहरुको रगतबाट विकसित पार्टीलाई मिलेर पुनर्गठन गर्न, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गर्न र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गर्न गौतमले विज्ञप्तिमा आग्रह गर्नुभएको छ ।