
काठमाडौं । बागमती सफाइ महाअभियानको ४ सय हप्ता पुगेको छ । २०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा सुरु भएको बागमती सफाइ महाअभियानको शनिबार ४ सय हप्ता पुगेको हो ।
यसै अवसरमा फोहोरमैला व्यवस्थापन संघले काठमाडौंको मीनभवनमा विशेष कार्यक्रम गर्यो । कार्यक्रममा बागमती सफाइ अभियन्ताहरुले नदीमा फोहोर फाल्न नहुने धारणा व्यक्त गरे ।सरकारले बागमती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा उनीहरुको जोड छ ।
कार्यक्रममा सहभागी अभिनेत्री मनिषा कोइरालाले सबैलाई बागमती सफाइमा लाग्न आग्रह गर्नुभयो । अर्की कलाकार आनी छोइङ डोल्माले पनि शरीरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसले सफा गर्नुपर्ने बताउनुभयो ।
बागमती सफाइको ४ सय हप्तामा नदी संरक्षणका लागि सचेतना जगाउन तथा नदीमा फ्याँकिएको फोहोर हटाउन नागरिक स्तरबाट उल्लेख्य सहभागिता भएको छ । महाअभियानमा सरकारी कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नागरिक अगुवाहरु, कलाकार, विद्यार्थी, विभिन्न संघसंस्थाहरु र जनप्रतिनिधिहरुको सहभागिता हुने गरेको छ ।
प्रत्येक शनिबार नागरिकहरु स्वतस्फूर्त रुपमा बागमती सफाइमा जुटेपछि अहिले बागमती नदीबाट दुर्घन्ध हटेको छ भने नदीमा सफा पानी बग्न थालेको छ । यो अवधिमा नदी किनारामा बगैंचा निर्माण हुने रुख रोप्ने लगायतका काम भएका छन् । बागमती नदिको विभिन्न ठाउँमा २६ वटा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्