१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेलकुदका संरचनाहरू सरकारले मात्रै बनाउन सक्दैन : सदस्यसचिव सिलवाल


0
Shares

sports

पाेखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले परिषद्ले मात्र खेलकुदका संरचनाहरू बनाउन नसक्ने बताउनुभएको छ । उहाँले पब्लिक प्राइभेट पार्टनरसीप आधारमा संरचना बनाउनुपर्नेमा जोड दिनुभएको छ । आफूहरूले मात्र स्रोत खोज्न नसक्ने भन्दै खेलकुदको विकासलाई आर्थिक विकासमा जोड्नसके खेल क्षेत्रको दिगो विकास हुने बताउनुभयो ।

नेपाल तेक्वान्दो संघको वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै सदस्य सचिव सिलवालले खेलको विकासका लागि जति धेरै मानिसलाई समेट्न सक्यो, त्यति अपनत्व हुने बताउनुभयो । जिम्मेवार पदमा रहेका व्यक्तिहरूले कुनै आग्रह र पूर्वाग्रह नराख्ने हो भने खेल क्षेत्रले फड्को मार्ने उहाँको दाबी छ । उहाँले खेलाडी र प्रशिक्षक छनोटमा तेरो र मेरो भन्ने प्रवृत्तिका कारण समस्या भएको बताउनुभयो ।

यस्तै, तेक्वान्दो संघको विवाद मिलाउन दुवै संघबाट विवाद समाधान समितिमार्फत एक हुनुपर्ने सुझाव उहाँको छ । संघका अध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजबहाुदर शाह, सचिव दीपराज गुरुङ, गण्डकी अध्यक्ष जगन गुरुङ लगायतले खेलकुदको विकासमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

साधारणसभाले संघले दोलखाको सैलुङमा निर्माण गर्ने हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरको योजना पारित गरेको छ । सेन्टरका लागि सैलुङ गाउँपालिकाले ५ रोपनी जग्गा उपलब्ध गराएको छ । २२ सय देखि २५ सय मिटर उचाइमा बन्ने सो सेन्टर चाँडै नै शिलान्यास गरिने संघका अध्यक्ष राणाले जानकारी दिनुभयो । संघले आगामी रणनीति र हालका गतिविधिका बारेमा समीक्षासमेत गरेको छ । साधारणसभामा संघका सातै प्रदेशका प्रतिनिधिको सहभागिता थियो ।