
काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३ सय ३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।
विघटनलाई असंवैधानिक भनेको कांग्रेसका नेताहरू संसद पुनःस्थापना कि निर्वाचन भन्नेमै अन्योल देखिएका छन् । केही नेताहरूले संसद पुनःस्थापनामा जोड दिइरहँदा सभापति शेरबहादुर देउवाले भने निर्वाचनको सुनिश्चितताको माग गर्नुभयो ।
विघटन भएको संसद पुनःस्थापनाको विपक्षमा उभिँदै कांग्रेस सभापति शेरवहादुर देउवा चुनावको ग्यारेन्टी खोज्न थाल्नुभएको छ । शुक्रबार काठमाडौंको क्षेत्र नम्बर ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटनको मुद्धा अदालतमा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने धारणा राख्नुभयो । सभापति देउवाको जोड जनतामा गएर शक्ति आर्जन गर्ने मौका गुमाउन नहुनेमा थियो ।
यता, काठमाडौं १ मा भएको कार्यक्रममा नेता प्रकाशमान सिंहले अदालतप्रति विश्वास रहेको भन्दै संविधानअनुरुप राज्यले निकाश पाउने आशा व्यक्त गर्नुभयो । उहाँले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर बस्न नसक्ने जिकिर गर्नुभयो ।
काठमाडौंमै भएको विरोधसभालाई सम्बोधन गर्दै नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभइ संसद छाडेर भागेको भगौडा र कायर भएको टिप्पणी गर्नुभयो । थापाले संविधान पढ्न र बहस गर्न सुवास नेम्वाङलाई लिएर खुलामञ्च आउन चुनौती दिनुभयो ।
यता, विरोधसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य नविन्द्रराज जोशीले संसद विघटन कम्युनिष्ट सरकारको अधिनायकवादको अन्तिम कदम भएको बताउनुभयो । चितवनमा बोल्दै नेता मिनेन्द्र रिजालले संविधान भत्काएर घोषणा गरिएको चुनावमा कांग्रेस नजाने उद्घोष गर्नुभयो ।
संसद विघटनविरुद्धको दोस्रो चरणको विरोध कार्यक्रम अन्तर्गत कांग्रेसले माघ ३ गते सम्पूर्ण पालिका र माघ ८ गते सबै वडा केन्द्रित विरोध प्रदर्शद गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्