
डोलराज रानाभाट
चितवन । ठूला प्रजातिका जीवजन्तुको संरक्षणमा सरकारले अर्बौं रुपैयाँ खर्चिए पनि चरा संरक्षणमा खासै चासो देखाएको पाईंदैन । चराको लागि उपयुक्त वासस्थान रहेको चितवनमा संरक्षणकर्मीको भरमा मात्र गणना हुँदै आएको छ ।
हाल नेपालमा ८ सय ८७ प्रजातिका चराहरू पाइन्छन् । वासस्थान, आहारा र चरा खेल्ने पर्याप्त ठाउँ भएकाले पनि चितवनमा मात्रै ६ सय ५६ प्रजातिका चराहरू छन् । मानिसहरूले आफ्नो रहमाइलोका लागि चराको सिकार गरिरहेको देख्न पाइन्छ । संरक्षण्को अभावमा रहेका चरालाई २०५३ जेठ १३ गतेदेखि बर्ड एजुकेशन सोसाइटी स्थापना गरी संरक्षणकर्मीहरूले संरक्षण गरिरहेका छन् । सरकारले चराको संरक्षणमा चासो नदिएपछि चरा संरक्षणमा चुनौती थपिएको बर्ड एजुकेशन सोसाइटीका पूर्व अध्यक्ष बासु बिडारी बताउनुहुन्छ ।
बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनका पूर्व अध्यक्ष योगेश अधिकारीले पर्यटकले चरा हेरी पैसा दिँदा स्थानीय गुलेली ताकेर त्यही चरा मारिरहेको दर्दनाक अवस्थाले संस्थाको स्थापना भएको स्मरण गर्नुहुन्छ । संस्थाले स्थानीय, विद्यार्थी लगायत चरा संरक्षणमा चासो दिनेहरूसँग मिलेर काम गर्दै आइरहेको छ ।
सोसाइटीले अल्पकालिन र दीर्घकालिन लक्ष्य र योजना सहित चरा संरक्षणको काम गरिरहेका हो । चराको संरक्षणसँगै जैविक विविधतालाई कायम राखी बर्ड टुरिजममा जोड दिने सोसाइटीको योजना छ । २०५३ सालदेखि गणनाकार्य गर्दै आएको सोसाइटीले चरा गणना गर्दै आएको छ । सोसाइटीले बर्ड अफ चितवन नामक पुस्तकनै प्रकाशित गरेर चराबारे अध्ययन अनुसन्धानतर्फ जोड दिइरहेको सोसाइटीका अध्यक्ष रमेश चौधरी बताउनुहुन्छ ।
सोसाइटीले मंगोलियाबाट चितवनको दिव्यनगर आउने कर्याङकुरुङ चरा, बागमती प्रदेशको हेटौंडा स्थित राप्तीमा मात्रै बस्ने र बच्चा समेत कोरल्ने तिलहरी चरालाई जोगाउन विशेष जोड दिएको छ ।
इष्ट एसियन अष्ट्रेलियन फ्लाइ वे र सेन्ट्रल एसियन फलाइ वेबाट चितवनमा आउने चराहरूको दीर्घकालिन संरक्षणमा सरकारले चासो दिए पर्यटक आगमनमा वृद्धि हुनेछ । जसले देशको पहिचान र आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्