
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभएको छ ।
सोमबार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुस सहित सिंहदरबार पश्चिमगेट स्थित शाहको शालिकमा पुगेका उनलाई प्रहरीले लाठीचार्ज गरेपछि राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताउनुभयो ।
नेता राणाले मुलुकका निर्माता पृथ्वी नारायण शाहलाई कदर गर्न आउँदा दमन भएको भन्दै सरकारले प्रजातन्त्र तथा लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभयो ।
अध्यक्ष राणाले सरकारमा बस्नेहरू राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्नेमा जोड दिनुभयो । मुलुकमाथि अत्याचार भएको भन्दै उहाँले अन्याय र अत्याचारविरुद्ध राप्रपा विरोधमा उत्रिने बताउनुभयो । उहाँले नेपालमा हिन्दु धर्म पुनःस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको जिकिर गर्नुभयो ।
पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।
सिंहदरबारको दक्षिण गेट निषेधित क्षेत्र भएकाले त्यहाँ धेरै जनाको समूहलाई जा दिइँदैन । पृथ्वी नारायण शाहको शालिक पश्चिम गेट अगाडी भएकाले विभिन्न संघसंस्थाका व्यक्तिहरू र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताको भिड शालिकछेउ जान खोज्दा प्रहरीले लाठीचार्ज गरेको थियो । यद्यपि सीमित व्यक्तिहरूलाई भने त्यहाँ जान दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्