
प्रज्ञा तिमिल्सिना
काठमाडौं । नेपालमा झण्डै २ महिनादेखि कोरोना संक्रमितको संख्या दैनिकजसो घट्न थालेको छ । प्रतिदिन कुल परीक्षण मध्ये १० प्रतिशत भन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिने गरेको छ । जसले अब संक्रमितको संख्या कम हुँदै गएको संकेत देखाएको छ ।
जनजीवन सामान्य भएसँगै संक्रमण दर उच्च हुने आँकनल गरिएको थियो । तर, दुई महिनायता परीक्षणको तुलनामा १० प्रतिशतभन्दा कम व्यक्तिमा संक्रमण देखिने गरेको छ । कोरोना संक्रमण देखिएको १० महिनापछि संक्रमितको संख्या कम हुँदै जानुले अब नेपालमा संक्रमण घट्दै गएको देखाएको हो ।
हाल नेपालको जनसंख्याको ६ दशमलव ६ प्रतिशत व्यक्तिमा गरिएको पीसीआर परीक्षणमा १३ दशमलव ३५ प्रतिशतमा संक्रमण देखिएको छ । संक्रमितमध्ये ९७ दशमलव ६ प्रतिशत व्यक्ति संक्रमणमुक्त भएका छन् । देशभर ४ हजार ४ सय २२ जना मात्र सक्रिय संक्रमित छन् ।
कोरोना संक्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा देखिएको छ भने मृत्यु हुनेको तथ्याङ्क समेत बागमतीमै सबैभन्दा बढी छ । बागमती प्रदेशको पनि चार जिल्ला काठमाडौ, ललितपुर, भक्तपुर र चितवनमा बढी संक्रमण देखिएको थियो । सबै भन्दा कम भने कर्णाली प्रदेशमा संक्रमण देखियो ।
हाल उपत्यका बाहेक अन्य जिल्लामा निकै कम व्यक्तिमा मात्र संक्रमण देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी संक्रमणको दर घटे पनि जोखिम भने उच्च रहेकाले खोपको प्रयोग सुरु नभएसम्म सतर्कता अपनाउन आग्रह गर्नुहुन्छ ।
नेपालमा संक्रमणको तुलनामा मृत्यु हुनेको तथ्याङ्कसमेत कम छ । संक्रमणको दर कम हुनु दोस्रो लहरको संक्रमण सुरु हुने संकेत भन्दै विज्ञहरूले भने उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । त्यसैले जनस्वास्थ्य सुरक्षाको मापदण्ड प्रयोग गर्न भने छाड्नु हुँदैन ।
प्रतिक्रिया दिनुहोस्