
दीपक श्रेष्ठ
काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनको जोरबिजोर प्रणाली हटेपछि सवारी दुर्घटनाको दर बढेको छ । दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटना न्यूनिकरण गर्नेतर्फ विशेष अभियान चलाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न संघ–संस्थाको समन्वयमा सडक बत्ती राख्न थालेको छ । कोटेश्वर–कलंकी सडकखण्डमा सवारी दुर्घटना बढेसँगै महाशाखाले त्यसको कारण खोजी गरेको थियो ।
तीव्र गति र अध्यारा सडकका कारण बढी दुर्घटना भएको निष्कर्ष निकाल्दै महाशाखाले दुर्घटना न्यूनिकरणको प्रयास थालेको हो । रातको समयमा जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम उच्च हुने भएकाले विभिन्न संघसंस्थासँग समन्वय गरी त्यस्ता स्थानहरूमा स्ट्रिट लाइट जडान गर्न थालिएको हो ।
तीव्र गतिका कारण हुने दुर्घटना कम गर्न महाशाखाले रातको समयमा समेत टल्किने ट्राफिक कोनलाई स्पिड ब्रेकर बनाएर गति नियन्त्रण गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरि कारबाही गर्न ट्राफिक सर्भिलेन्स भ्यान पनि परिचालन गरेको छ । उपत्यकाको व्यस्त सडकहरूमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकहरूमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न सीसीटीभी क्यामराजडित भ्यान परिचालन गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । क्यामरा– रक्षामान बज्राचार्य
प्रतिक्रिया दिनुहोस्