
काठमाडौं । भारत र अष्ट्रेलियाबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ ।
सिड्नीमा टेष्टको अन्तिम दिन चार सय सात रनको चुनौती पछ्याएको भारतले ५ विकेटको क्षतिमा ३ सय ३४ रन बनाउँदा समय सकिएको थियो । भारतका लागि ऋषब पन्तले ९७, चेतेश्वर पुजाराले ७७ तथा रोहित शर्माले ५२ रन बनाए । अष्ट्रेलियाका जोस हाज्लेउड र नाथन लायनले २–२ विकेट लिए ।
यसअघि चौथो दिन अष्ट्रेलियाले ६ विकेटको क्षतिमा ३ सय १२ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । क्यामरुन ग्रिनले ८४ तथा स्टिभ स्मिथले ८१ रन बनाएका थिए । अष्ट्रेलियाले पहिलो इनिङ्समा म्यान अफ द म्याच स्मिथको एक सय ३१ रनको मद्धतले ३ सय ३८ रन बनाएको थियो भने भारत दुई सय ४४ रनमा समेटिएको थियो ।
खेलपछि चार खेलको श्रृंखलामा १–१ को बराबरी भएको छ । पहिलो खेल घरेलु टिमले जित्दा दोस्रो खेल भारतले जितेको थियो । अब श्रृंखलाको छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ । चौथो तथा अन्तिम खेल आगामी शुक्रबारदेखि ब्रिसबेनमा हुनेछ । यसअघिको तीन खेलको एक दिवसीय अष्ट्रेलियाले २–१ ले र तीन खेलको ट्वेन्टी–ट्वेन्टी भारतले २–१ ले जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्