
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगसमक्ष आग्रह गरेको छ । समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितको टोली सोमबार आयोग पुगेर निर्वाचन प्रक्रिया रोक्न आग्रह गरेको हो ।
प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र निर्वाचनको प्रक्रियाले अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने भन्दै तत्काल निर्वाचनको सम्पूर्ण गतिविधि स्थगित गर्न दाहाल–नेपाल समूहले आग्रह गरेको हो ।
आयोगले मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरू बारे मात्र काम गरिरहेको अवगत गराएको छ । यस्तै दाहाल–नेपाल समूहले आयोगमा रहेको नेकपाका सम्पूर्ण दस्तावेजको प्रतिलिपिको पनि माग गरेको छ । नेकपाको दाहाल–नेपाल समूहको आग्रहप्रति आयोगले छलफल गरेर उपयुक्त निर्णय गर्ने र नेकपा सम्बन्धी आयोगसँग रहेका कागजात उपलब्ध गराउने जनाएको छ ।
अध्यक्षद्वय दाहाल र नेपालसँगै नेताहरु लिलामणी पोख्रेल, कृष्णभक्त पोखरेल, राजेन्द्रप्रसाद पाण्डे, रामनारायण बिडारीलगायतका नेताहरू आयोग पुग्नु भएको थियो । प्रतिनिधसभा विघटनसँगै राजनीतिक रूपले विभाजन भएको नेकपाको ओली र दाहाल–नेपाल समूहले आधिकारीकता दाबी गर्दै आयोगमा निवेदन दिएका छन् । आयोगले आधिकारिकता सम्बन्धी दाबीमाथि आवश्यक छानविन गरिरहेको जनाएको छ ।
गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै सरकारले आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन घोषणा भएसँगै आयोगले निर्वाचन सम्बन्धि कामहरू सुरू गरिसकेको छ । दाहाल–नेपाल समूह भने प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै सडक आन्दोलन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्