१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘पल्सर स्पोर्टस अवार्ड’ मंगलबार हुँदै, १० विधामा पुरस्कार प्रदान गरिने


0
Shares

काठमाडौं । सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ मंगलबार वितरण गरिँदैछ । नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफले ललितपुरको सातदोबोटोमा रहेको कराँते हलमा अवार्ड वितरण कार्यक्रम गर्दैछ । कार्यक्रम दिउँसो ४ बजेपछि सेमी भर्चुअल रुपमा सुरु हुनेछ ।

कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा खेलकुदको क्षेत्रमा योगदान दिएका १० विधाका व्यक्तिलाई पुरस्कार प्रदान गरिने छ । मञ्चले यसअघि नै ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरीका सिंह, कराँतेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन् ।

यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, कराँतेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् । यसैगरी वर्ष महिलातर्फ कराँतेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरीका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन् ।

वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित पुरस्कृत गरिनेछ । मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुने मञ्चका महासचिव प्रज्ज्वल ओलीले जानकारी दिनुभयो ।