
डडेल्धुरा । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा महिनौैंदेखि लागेको ताल्चा अझै खुल्न सकेन । कोरोना महामारी र किल्ला मर्मत गर्नका लागि लगाइएको ताल्चा अहिलेसम्म नखुल्दा आन्तरिक पर्यटक किल्ला नहेरी फर्किने गरेका छन् ।
किल्लाभित्र निर्माणको काम अलपत्र भएको छ । मर्मतको काम सुरु भए पनि बिचमै छाड्दा अमरगढीको सौन्दर्यमा पनि त्यसले प्रभाव पारेको छ । यस्तै अमरगढी जाने बाटो समेत स्थानीय तहले बनाउन सकेको छैन । किल्लाभित्रको मर्मतको काम नसकिएको र त्यहाँसम्म पुग्ने बाटो पनि राम्रो नभएकाले ताल्चा लगाउनुपरेको अमरगढी किल्ला पर्यटन क्षेत्र विकास समितका अध्यक्ष प्रबिन जैरुले जानकारी दिनुभयो ।
अमरगढी किल्लाको निर्माण एवं व्ययवस्थापनको जिम्मेवारी अमरगढी नगरपालिकाले लिएको छ । नेपाली सेनाको जिम्मामा रहेको बेला नियमित सुरक्षा, सरसफाइ र पर्यटकलाई व्यवस्थापन गरिरहेको भए पनि नगरपालिकाको जिम्मा आएपछि साैन्दर्य र सरसफाइमा ध्यान दिइएकाे छैन । जसले किल्लालाई नै कुरुप बनाएकाे छ । सेनाले तीन महिनाअघि नै किल्ला अमरगढी नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्