
एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहली सोमबार आमा र बुवा बनेका छन् । विराट कोहलीले आफूहरू बुवाआमा बनेको भन्दै सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी दिएका थिए । अनुष्काले सोमबार छोरी जन्माइन् ।
छोरीको जन्मिएको जानकारी दिएपछि अनुष्का र विराटलाई धेरैले बधाई दिएका छन् । यसै क्रममा उनीहरूको छोरीको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्वीरमा अनुष्का र विराटकी छोरीको अनुहार देखिएको छैन, पैताला मात्र देखिएको छ ।
तस्वीर विराट कोहलीका भाइ विकास कोहलीले आफ्नो इंस्टाग्राममा राखेका हुन् । पैलालाको तस्वीर राख्दै उनले इंस्टाग्राममा भनेका छन्, ‘खुसी आइसकेको छ, परिवारमा एक परीले कदम राखेकी छन् ।’ तस्वीरमा विकासले इमोजीमार्फत ‘वेलकम’ लेखेका छन् । विकासले राखेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सोमबार विराटले अनुष्का र छोरीको स्वास्थ्य ठिक रहेको जानकारी दिएका थिए । साथै उनले आफूहरूलाई थोरै प्राइभेसी चाहिएको भन्दै मिडिया र शुभचिन्तकहरूलाई यो कुरा सम्झिदिन आग्रह गरेका छन् । उनीहरूले २०१७ डिसेम्बर ११ मा विवाह गरेका थिए । अनुष्का गर्भवती भएपछि उनले गर्भावस्थाका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्