१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्य मन्त्रालय : मन्त्री फेरिए, योजना फेरिएन, तीन मन्त्रीले पूरा गर्न नसकेको एउटा काम !


0
Shares

प्रज्ञा तिमिल्सिना (इमेज)
काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै १३ महिनादेखि स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रहनु भएका मन्त्री भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा तानियो । कोरोना महामारी रोकथाम, उपचार र स्वास्थ्य साम्रागी आयात विवादमा मुछिनु भएका मन्त्री ढकालले मन्त्रालयमा रहँदासम्म कुनै उल्लेख्य काम गर्न सक्नु भएन ।

स्वास्थ्य सेवाका कर्मचारीहरु अहिले पनि समायोजनको अलमलमा छन् । मन्त्री ढकालले त्यसलाई तत्काल समाधान गर्ने बताए पनि कुनै प्रगति हुन सकेन । पुष ५ गतेदेखि मन्त्रालय सम्हाल्नु भएका हृदयेश त्रिपाठीले पनि पूर्व स्वास्थ्यमन्त्री ढकालकै योजनालाई पुनः दोहोर्‍यानुभयो । सोमबारको पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले आफ्ना तीनवटा प्राथमिकता भन्दै अघिल्ला मन्त्रीका योजनालाई अघि सार्नुभयो ।

स्वास्थ्य मन्त्रालयले अझै कर्मचारी समायोजन गर्न सकेको छैन । जुन काम पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भानुभक्त ढकालले समेत आफनो प्राथमिकतामा राखेका थिए । मन्त्री त्रिपाठीले पनि यही वाचा दोहोर्‍याउनुभयो ।

स्थिरताको वाचा दिएर गठन भएको सरकार आफ्नो कार्यकाल पूरा नगर्दै अल्पायुमै सकिएको छ । तर, यही बीचमा पनि स्वास्थ्य मन्त्रालयमा तीन–तीन जना मन्त्रीहरु फेरिए । जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयसँग जोडिएको मन्त्रालयमा निरन्तरको फेरबदलले प्रभावकारी नतिजा ल्याउन सकेन ।

कोरोना महामारी, त्यसको रोकथाम र नियन्त्रण, स्वास्थ्य सामाग्री खरिद अनि पछिल्लो समय खोपको वितरणमा सार्वजनिक रूपमा उठेका चासोले नेतृत्वलाई चर्को दबाबमा पारेको छ । एउटै कार्यक्रमलाई प्राथमिकतामा राख्ने र कुनै काम नहुने हो भने स्वास्थ्य क्षेत्र आफैँ रोगी हुने अवस्था नपुग्ला भन्न सकिदैन ।

भिडियो हेर्नुहोस्