१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा छैनः उपराष्ट्रपति पेन्स


0
Shares

us mike pence

काठमाडौं । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बर्खास्त गर्ने पक्षमा आफू नरहेको स्पष्ट पार्नुृभएको छ ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा राष्ट्रपतिमाथि महाअभियोगको प्रस्ताव दर्ता भएकै बेला उपराष्ट्रपति पेन्सले आफू संविधानको २५ औँ संशोधन सक्रिय पार्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो ।

सभामुख न्यान्सी पेलोसीले उपराष्ट्रपति पेन्ससँग २५ औँ संशोधनको व्यवस्था सक्रिय पारेर राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने पक्षमा रहे–नरहेको जानकारी दिन पत्र पठाउनुभएको थियो ।

त्यसको जवाफमा उपराष्ट्रपति पेन्सले आफू त्यसको पक्षमा नरहेको जानकारी गराएको समाचार संस्थाहरुले जनाएका छन् ।

तल्लो सदनमा महाअभियोग प्रस्तावमाथि आज मतदानको तयारी हुँदैछ । तल्लो सदनबाट महाअभियोग सम्बन्धी प्रस्ताव पारित भएमा ट्रम्प दोस्रो पटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बन्ने छन् ।

गत बुधबार संसद भवनमा भएको हिंसात्मक आक्रमणका लागि आफ्ना समर्थकलाई उक्साएको र बिद्रोहको अवस्था निम्त्याएको अभियोग ट्रम्पमाथि छ ।

संसद भवनमा भएको बिद्रोह तथा आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएपछि ट्रम्पलाई राजीनामा गर्न वा उपराष्ट्रपति पेन्सलाई संवैधानिक व्यवस्था अनुसार सत्ता आफ्नो हातमा लिन दबाब परिरहेको छ ।

पेन्सले तल्लो सदनलाई पठाएको पत्रमा कार्यकालको ८ दिन मात्रै बाँकी हुँदा राष्ट्रपतिलाई हटाउनु देशको हितमा नहुने र संविधानको व्यवस्थाले पनि त्यसलाई साथ नदिने दाबी गरिएको छ । एजेन्सी