२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ईमेज च्यानल २४ औं वर्षमा प्रवेश, विश्वसनीय समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनको प्रतिबद्धता


0
Shares

काठमाडौं । प्रशारण क्षेत्रमा नेपालको पहिलो निजी प्रसारण संस्था इमेज च्यानलले स्थापनाको २३ औं बर्ष पार गरेको छ । सन्तुलित र विश्वसनीय समाचार अनि स्वस्थ मनोरञ्जनको मानक ईमेज च्यानल टेलिभिजनले नेपाली प्रसारण जगतमा पृथक पहिचान बनाएको छ ।

आगामी दिनमा अझै सशक्त र प्रभावकारी रुपमा आम दर्शक, स्रोता र पाठकहरुसँग जोडिन नयाँ सोच र उर्जाका साथ हाम्रो कदम अघि बढ्दै छ । आज भन्दा २३ वर्षअघि तपाइँको घरमा नबोलाइ आएका पाहुना हामी, अहिले एकै परिवारको सदस्य भएका छौं । आमदर्शक, स्रोता, पाठक र शुभेच्छुकको साथ अनि प्रेरणाले हामीलाई लगातार उर्जा दिइरहेको छ ।

२०५३ सालसम्म नेपालमा टेलिभिजन च्यानल र दर्शकहरुको धित मार्न सक्ने कार्यक्रमको ठूलो अभाव थियो । त्यहीबेला हामीले निकै चुनौतीका बीच नेपाल टेलिभिजनसँग डेढ घण्टाको समय लिएर कार्यक्रम उत्पादन तथा प्रसारण थाल्यौं ।

गर्वका साथ भन्न सक्छौ , बिहानको समयमा सूचना र मनोरञ्जन दर्शकको रुचिमा हुन्छ भन्ने तथ्य हामीले नै स्थापित गर्‍यौ । लाखौं दर्शकको आँखा हाम्रै पर्खाइमा हुन्थ्यो । केही कुरा समयले सिकायो । केही हामीले समयको कालखण्डमा स्थापित गर्‍यौ ।

थोरै तर चुस्त स्रोत–साधन र दृढ इच्छा शक्तिले राम्रो प्रतिफल दिन्छ भन्ने अभ्यास हामीले यही बीचमा गर्न पायौं । आखिर सञ्चारमाध्यमको मुल सम्पत्ति तपाई दर्शक नै त हो । डेढ घण्टाको कार्यक्रममा दर्शक तथा शुभेच्छुकबाट पाएको मायालाई उर्जाको रुपमा लिएर हामीले काठमाडौ उपत्यकाका दर्शकका लागि नेपालकै पहिलो मेट्रो च्यानलको प्रसारण थाल्यौं ।

यो हाम्रो सफलता अनि चुनौतीको पहाड चढ्ने अर्को पाइला थियो । नेपाली आकासमा बढ्दै गएका टेलिभिजनका सिग्नल अनि सूचना र मनोरञ्जनप्रतिको जनआकांक्षाबाट प्रेरणा लिँदै फेरि प्रसारण यात्राको अर्को गन्तव्य भू–उपग्रह माध्यमलाई समायौं । प्रविधिले संम्पूर्ण विश्वलाई सानो गाउँ बनाइसकेको अवस्थामा यो अपरिहार्य थियो ।

त्यसैले ईमेज च्यानल नेपाल र नेपालीको सूचना र सांस्कृतिक अधिकारप्रतिकोे सन्देशसहित विश्वका दर्जनौं मुलुकसम्म विस्तार भयो । यो सफलता सम्पुर्ण नेपालीको सफलता जस्तै बन्यो । यता टेलिभिजन हेर्ने दर्शक मात्रै हैन, रेडियो सुनेर सूचना र मनोरञ्जन लिने स्रोताका लागि ईमेज एफएम ९७.९ हुंदै , ईमेज न्यूज एफएम १०३.६ मार्फत जोडियौं ।

योे अनुभवले रेडियो पत्रकारिताका क्षेत्रमा पनि आफुलाई स्थापित गरायौं । सूचना र मनोरञ्जन अनि समाचारमूलक सामाग्रीलाई प्राथमिकता दिने यी दुबै एफ.एम अहिले स्रोताको ढुकढुकी बनिसकेका छन् । लाखौंंका लागि हामी प्रसारण माध्यमका हिसाबले आँखा र कान मात्र हैन सफलताको आधार पनि बन्यौं । सन्तुलित समाचार, लोकप्रिय कार्यक्रम, गीत–संगीतको प्रबद्र्धन, प्रतिभा सम्मान र अग्रजको सत्कारमा इमेज ग्रुपअफ कम्पनिज अहोरात्र खटिरहेको छ ।

दर्शक, स्रोता र पाठकसँग अझ निकट हुन हामीले अनलाइन पोर्टल पनि शुरु गर्यौ ईमेजखबर डटकम । जो आमनेपाली बीच लोकप्रिय छ । यो बीचमा मुलुकमा व्यवस्था नै परिवर्तन भयो । थरि–थरिका राजनीतिक तथा प्रशासनिक अभ्यास गरियो । तर हामीले संधै जनताको भाषा बोल्यौ । आम दर्शक र शुभेच्छुकको अमुल्य सुझाव, सल्लाह र मार्ग निर्देशनअनुसार गन्तव्य तय गर्दै आयौं । इमेज च्यानलले प्रसारण गन्तव्य र गति कहिल्यै फेरेन र फेर्दैन पनि जसको प्रण हामी गरिरहेका छौं । (हेर्नुहोस् भिडियो)