
काठमाडौं । आज राष्ट्रिय योग दिवस । शारिरिक र मानसिक स्वास्थ्यका लागि योगको महत्व बुझाउन विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइदैछ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका अनुसार यस पटकको योग दिवसको नारा ‘राष्ट्रिय एकता, योगको सान्दर्भिकता’ भन्ने रहेको छ ।
योग प्राणायाम, आयुर्वेद र जडीबुटीको विकास गरी हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रलाई स्वस्थ, समुन्नत र समृद्ध बनाउने अभियानका साथ राष्ट्रिय योग दिवस मनाउन लागिएको हो । नेपाल सरकारले २०७२ साल साउनमा निर्णय गरेर हरेक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबाट वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताउनुभएको छ । राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार–विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको संक्रमण सामना गर्न सहज हुने जनाउनुभयो ।
प्रधानमन्त्री ओलीको सन्देशमा हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दाे र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्